नवलपुर — राष्ट्रिय स्तरको वक्तृत्व तथा रियालिटी शो द स्पिकिङ्ग टाइटन का विजेता सुदिप चापागाईँले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवातर्फ उम्मेदवारी दिएका छन्।
कावासोती क्षेत्रमा सामाजिक, शैक्षिक, सञ्चार तथा व्यवसायिक क्षेत्रमा सक्रिय चापागाईँले युवाको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन्।
चापागाईँले कुमारवर्ती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सभापतिका रूपमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए। त्यसपछि उनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसमेत बने।
सञ्चार क्षेत्रमा पनि उनको लामो अनुभव रहेको छ। उनले एक दशकभन्दा बढी समय रेडियोकर्मीका रूपमा काम गरेका छन । सञ्चार क्षेत्रमा रहँदा स्थानीय मुद्दा, युवा तथा सामाजिक विषयमा निरन्तर काम गरेको उनको परिचय छ।
चापागाईँ नवलपुरको आतिथ्य सत्कार (Hospitality) व्यवसायमा समेत सक्रिय छन्। आफ्नो व्यवसायमार्फत स्थानीय युवालाई सीप तथा रोजगारीसँग जोड्दै आएको उनको भनाइ छ। विशेषगरी होटल, क्याफे तथा आतिथ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा आफूले काम गर्दै आएको उनले बताउँदै आएका छन्।
त्यसैगरी उनी जिल्ला खेलकुद विकास समिति, नवलपुरको कार्यसमिति सदस्यका रूपमा पनि कार्यरत छन्। खेलकुद तथा युवासँग सम्बन्धित गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ।
राष्ट्रिय स्तरको द स्पिकिङ्ग टाइटन जितेपछि चापागाईँले सार्वजनिक वक्तृत्व, युवा नेतृत्व र सामाजिक सरोकारका विषयमा आफ्नो सक्रियता थप विस्तार गरेका छन्।
महाधिवेशन प्रतिनिधिमा युवातर्फ उम्मेदवारी दिँदै चापागाईँले पार्टीभित्र नयाँ पुस्ताको सहभागिता, युवाको आवाज र अवसर सिर्जनालाई आफ्नो प्राथमिकताका विषयका रूपमा अघि सारेका छन्।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा युवा पुस्ताबाट विभिन्न आकांक्षीहरू मैदानमा देखिएका बेला चापागाईँको उम्मेदवारीलाई उनको विद्यार्थी राजनीति, सञ्चार अनुभव, व्यवसायिक संलग्नता र युवा गतिविधिसँग जोडेर हेरिएको छ।
सुदिप चापागाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा उम्मेदवार