नवलपुर । विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः४५ बजे ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट सर्दीबाट प्रहरी नायब निरीक्षक सिताराम चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनामा संलग्न शेरबहादुर विकलाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबास पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विनयी त्रिवेणीमा श्रीमानद्वारा श्रीमतीको हत्या, आरोपी पक्राउ