प्रिय धन , नवलपुर मध्यविन्दु नगरपालिका वडा नम्बर ९ का कृषकहरुलाई आज दूधको क्यान वितरण गरिएको छ । कोइका संस्थाको आर्थिक सहयोग तथा गुडस् नेइबर्स इन्टरनेशनल संस्थाको प्राविधिक संयोजन र सहमति संस्थाद्वारा संचालित मध्यविन्दु कृषि सहकारी संस्था मध्यविन्दु ९ को समन्वयमा समावेशी ग्रामीण विकास परियोजना कार्यक्रम अन्तर्गत वडा भित्रका ८ वटा दुग्ध कृषक समूहका १३५ कृषकहरुलाई दूधको क्यान वितरण गरिएको हो । मध्यविन्दु नौ भित्रका हराभरा दुग्ध कृषक समुह मझुवा सिम्रहनी , हरियाली समुह भिमरेनी , वसन्त समूह स्कुल टोल , शिवमन्दिर समूह शिवमन्दिर टोल , शितल समुह शितल चोक , मिलन समुह मिलन टोल , फूलबारी समुह गौरीशंकर टोल र मिलिजुली दुग्ध कृषक समूह मिलन टोल का गरी जम्मा १३५ साना कृषक हरुलाई १० लिटर दूध अट्ने स्टिलको क्यान वितरण गरिएको हो ।
मध्यविन्दु ९ भित्रका आठ सय उनानब्बे घर धुरीमध्ये १४० घरधुरीका कृषक साना किसान अन्तर्गत वर्गिकृत गरिएकाले सो मध्येका नाम टिपाउनु भएका १३५ घरधुरीका कृषकलाई क्यान वितरण गरिएको कार्यक्रम सञ्चालक एवम् सहमति संस्थाका फिल्ड भिजिटर विद्या गैरे ले बताउनुभयो । कार्यक्रममा क्यान ग्रहण गर्दै कृषक प्रताप सिंह विक ले आफूहरुले यसरी क्यान मात्र पाउँदा पनि हर्षित भएको र कृषकहरुमा थप उर्जा पैदा भएको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बसन्त दुग्ध कृषक समूह स्कुल टोल का अध्यक्ष नर बहादुर कुमालले बोरिङको सम्भावाना भएकाले घास पालन गरी कृषि पेशामा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ । बेरोजगारीको समस्यालाई यो कृषि पेशाले नै हल गर्न सक्ने भन्दै यहाँका कृषकले बाहिर दूध निर्यात गरेजस्तै मुलुकले नै विदेशमा दूध निर्यात गर्न सकेमात्रै देश समुन्नत हुने बताउनुभएको छ । साथै कुमालले गाई , भैंसी , बाख्रा , बङ्गुरपालन मा उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । यस्तै सोही कार्यक्रममा दूधको क्यान वितरण गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एबं मध्यविन्दु ९ का वडा अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले कृषकहरुलाई यो क्यान वितरण गर्नु भनेको बाटो देखाउनु हो भन्नुभएको छ । उहाँले बुबाले गर्नुपर्ने काम मित बुबाले गर्ने भनेझैं स्थानीय र नेपाल सरकारले गर्नुपर्ने कार्य कोरियन संस्था कोइकाले गरेको बताउनुभयो । " यो त एउटा बाटो देखाउने काम मात्र हो अब कृषकले समुन्नत समाज निर्माणका लागि कृषि क्रान्ति अघि सार्नुपर्छ " उहाँले भन्नुभयो । कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका मध्यविन्दु कृषि सहकारी संस्था मध्यविन्दु ९ का अध्यक्ष राम प्रसाद ढकाल ले यहाका कृषकहरुको मेहनतका आधारमा सम्भावना लाई देखेर नै उत्साहका लागि यो खालको कार्यक्रमको माग गरेको बताउनुभएको छ । उहाले यस वडामा मात्रै करिब ५०० लिटर दूध हरेक दिन सङ्कलन हुने समेत विश्वास व्यक्त गर्नुभएको छ साथै कृषकले कार्तिक २७ गते बिहीबारका दिन देखि मध्यविन्दु कृषि सहकारी संस्था मध्यविन्दु ९ बसन्तपुरमा दूध संकलन गर्न सक्ने पनि अध्यक्ष ढकालले बताउनुभयो । कार्यक्रम मध्यविन्दु कृषि सहकारी संस्था मध्यविन्दु ९ का अध्यक्ष राम प्रसाद ढकाल को अध्यक्षता एवम् वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन भने सहमति संस्थाकी फिल्ड भिजिटर विद्या गैरेले गर्नुभएको थियो ।
कोइकाको आर्थिक सहयोगमा मध्यविन्दु ९ का १३५ कृषकलाई दूधको क्यान वितरण